डा. सीपी पोख्रेल
डा. सीपी पोख्रेल
“फ्र्याङ्क काप्रियो” – नाम सुन्नु भएको छ?
उनी अमेरिकाको रोड आइल्याण्ड राज्यको नगरपालिका स्तरको अदालतका मुख्य न्यायाधीश थिए। हालै मात्र ८८ वर्षको उमेरमा, प्याङ्क्रियाटिक क्यान्सरका कारण उनको देहावसान भयो। निधनपछि उनका भिडियोहरू युट्युब लगायतका सामाजिक सञ्जालमा निकै चर्चित बनेका छन्। उनले न्यायाधीशको भूमिकामा न्याय मात्र दिएनन्, मानिसको मन जित्ने कला पनि देखाए। न्यायप्रति उनले अपनाएको मानवीय दृष्टिकोणले तल्लो तहका साधारण मानिसहरूको हृदयमा गहिरो छाप छोड्यो।
जीवित हुँदा मानिस धन वा पदका कारणले पनि चर्चित हुन्छ। मृत्यु पश्चात भने मानिस दुई कारणले मात्र स्मरणीय रहन्छ – पहिलो कारण, उसले समाजलाई अत्यन्तै नराम्रो काम गरेर घाइते बनाएको हुन्छ। जस्तै – हिटलर र मुसोलिनी। उनीहरूको मृत्यु भएको पनि आठ–नौ दशक भइसकेको छ, तर आज पनि उनीहरू इतिहासमा जिउँदै छन्। यस्ता व्यक्तिहरूलाई कुख्यात व्यक्ति भनिन्छ। उनीहरूको नाम सम्झनुको कारण भनेको, मानिसले उनीहरूको गल्तिबाट पाठ सिकून् र फेरि अरूले त्यसो नगरुन भन्ने हो।
दोस्रो प्रकारका मानिस भने आफ्नै स्वार्थभन्दा माथि उठेर समाजलाई सकारात्मक योगदान दिन्छन्। यस्ता व्यक्तिहरूका कारण समाज सुधारिन्छ, सबैका लागि बाँच्न अझ सहज र न्यायपूर्ण बन्छ। उनीहरू हल्ला गरेर होइन, शान्त तरिकाले आफ्नो काम गरेर परिचित हुन्छन् । त्यस्ता मानिसहरु मृत्यु पछि पनि आफ्नो बिरासत छोडेर जान्छन् र सबैले सम्झिन्छन् । समाजको लागि खासै योगदान नगरेका मानिसहरु आफ्नो मृत्यु पछि हराउछन। उनीहरुको पद र प्रतिष्ठा क्षणिक हुन जान्छ। उदाहरणका लागि – नेपालका दस जना प्रधानमन्त्रीहरूको नाम भन्नु परेमा गाह्रै पर्छ, तर लक्ष्मीप्रसाद देवकोटा वा नारायण गोपालको नाम भने सबैलाई थाहा छ।
न्यायाधीश फ्र्याङ्क काप्रियो पनि त्यस्तै व्यक्तिहरूमध्ये एक हुन्। सामान्य पृष्ठभूमिबाट उठेर उनी चर्चित न्यायाधीश बने। शारीरिक रूपमा यो संसार छाडे पनि आफ्नो कार्यको विरासतले उनी अझ कयौं वर्ष बाँचिरहने छन्। भन्न त “कानून अन्धो हुन्छ” भनिन्छ, तर काप्रियोले भने कानूनका अक्षरबीच दया र करुणा खोज्थे। न्याय सम्पादन गर्दा उनले कानूनी धारामा होइन, मानवीय संवेदनामा ध्यान दिन्थे। उनी आरोपितको मन छुने प्रयास गर्थे, त्यसपछि मात्र कानूनी अक्षर पढ्थे। उनको मान्यता स्पष्ट थियो – “कानूनले जनतालाई रुवाउने होइन, बरु सेवा गर्ने हो” ।
उनका दया र करुणा झल्किने केही रोचक प्रसङ्गहरू यहाँ उल्लेख गर्न चाहन्छु।
शुरुमा जज फ्र्याङ्क काप्रियो अरू जस्तै सामान्य न्यायाधीश मात्र थिए। पहिलो पटक अदालतको कुर्ची (bench) मा बसेर उनलाई एउटा निर्णय गर्नुपर्यो – जसमा चार बच्चाकी एक गरिब आमाले पार्किङ नियम तोडेको कारणले जरिवाना पाएकी थिइन्। कानुनअनुसार उनले सजाय त सुनाए, तर साँझ घर पुग्दा उनका पिताले सम्झाउँदै भने – “त्यो महिलासँग आफ्ना बच्चालाई खुवाउने पैसा छैन। न्यायाधीशको काम असहायलाई रुवाउनु होइन, बरु मलम लगाउनु हो। तिमीले ती महिलाको अवस्था बुझ्न सकेनौ। सायद मैले तिमीलाई सहि तरिकाले हुर्काउन सकिन। तिमीले जे गर्यौ, त्यो न्यायपूर्ण थिएन” ।
आफ्ना पिताका ती शब्दहरूले काप्रियोको हृदयलाई गहिरोगरी स्पर्श गरे। त्यस दिनपछि उनी सदाका लागि परिवर्तन भए र आजका प्रसिद्ध ‘जज काप्रियो’ बने। उनको प्रसिद्धि देखेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उनलाई सर्वोच्च अदालतमा जान अनुरोध गरेका थिए। तर जज काप्रियोले भने, “म भुईँ मानिसहरूसँग नजिक रहन र उनीहरूका समस्यामा काम गर्न चाहन्छु,” भनी सर्वोच्च अदालत जाने प्रस्ताव अस्वीकार गरे।
एक पटक, करिब १०० वर्षका द्वितीय विश्वयुद्धका पूर्वसैनिक रातो बत्तीमा गाडी चलाएको आरोपमा अदालतमा उपस्थित भए। वृद्ध सैनिक काँप्दै बोलिरहेका थिए। बयान सुनेपछि जज काप्रियोले मुस्कुराउँदै भने: “तिम्रो पुस्ता र तिमीले हाम्रो देशको सुरक्षाका लागि दिएको बलिदानको ऋण हामी कहिल्यै तिर्न सक्दैनौं। यस्तो सानो गल्तीका लागि तिमीलाई सजाय दिने कुरा मेरो हृदयले मान्दैन। म यो मुद्दा बदर गर्छु”।
यो सुनेर अदालतभरि तालीको गडगडाहट गुन्जियो।
त्यसैगरी, एक युवतीमाथि रातो बत्तीमा गाडी हिँडाएको र तीव्र गतिमा गाडी चलाएको आरोपमा नौवटा टिकटको जरिवाना तिर्न बाँकी थियो। उनलाई पतिले छोडेका थिए, नचिनेका व्यक्तिहरूले पछ्याएर सताउने गरेका थिए, र आर्थिक अवस्था पनि राम्रो नभएकाले जीवन निकै कठिन अवस्थामा थियो। ती महिलाको कथा सुनेपछि जज काप्रियोले दयालु दाताहरूले दिएको सहयोग रकमबाट उनको जरिवाना तिरीदिए।
न्यायाधीशको व्यवहारबाट प्रभावित भई ती महिला भावुक भइन् र न्यायाधीशलाई अँगालो हाल्न अनुमति मागिन्। अनुमति पाएपछि आरोपित र न्यायाधीशले एकअर्कालाई अँगालो हाल्दा अदालतमा उपस्थित सबैजनाको आँखा रसाएको थियो।
एकपटक एक गर्भवती महिला आफ्नो तीन वर्षीया छोरीलाई लिएर न्यायाधीशको अगाडि उपस्थित भइन्। उनीमाथि रातो बत्तीमा गाडी चलाएको आरोप थियो। न्यायाधीशले ती महिलाको तीन वर्षीया सानी छोरीलाई माथि बेन्चमा बोलाएर काखमा उचाले, उनको अगाडि माइक्रोफोन राखिदिए, अनि हथौडाले ढ्याक ढ्याक गर्न लगाए। त्यसपछि आमाले रातो बत्तीमा गाडी चलाएको भिडियो हेर्न भने।
न्यायाधीशले सानो बच्चीलाई सोधे – “तिम्री आमाको गल्ती छ कि छैन?”
न्यायाधीशको भूमिकामा बसेकी बच्चीले उत्तर दिइन् – ‘छ’।
त्यो सुनेर सबै जना गलल हाँसे।
न्यायाधीशले मजाक गर्दै भने – “यो बच्चीको फैसला अन्तिम हो।” तर आमाको गर्भावस्था देखेर बच्चीको निर्णयलाई ओभररुल गर्दै न्यायाधीशले टिकट मिनाहा गरिदिए।
उनको जीवनमा यस्ता असंख्य किस्साहरू छन् –
कहिले विद्यालय जान नसकेको बालकलाई जरिवाना तिर्नु नपरोस् भनेर सहयोग गरेका,
कहिले आफ्नै हातले जरिवाना घटाएर “भबिश्य प्रति आशा गर्न नछोड” भन्दै प्रोत्साहन दिएका,
अनि कहिले वृद्धहरूको जीवन संघर्ष सुनेर हाँसो र आँसु मिसिएको फैसला सुनाएका।
यस्तै व्यवहारले गर्दा ‘The Nicest Judge in the World’ भनेर चिनिने जज फ्र्याङ्क काप्रियोले न्याय क्षेत्रमा काम गर्नेका लागि मात्र होइन, सबैका लागि एक अनुकरणीय विरासत छोडेर गएका छन्। न्यायाधीशको कुर्सीमा बसेर उनले गरेका व्यवहार र फैसला हेर्दा यस्तो लाग्छ, मानौँ उनी अन्धो कानूनका पाना पल्टाउँदै छैनन्, बरु हाम्रो धर्मग्रन्थ गीता पल्टाउँदै छन्।