नेपाल क्योकुशिन कान कराँते पश्चिम शाखा गण्डकीको आयोजनामा २०८२ साल माघ २४ गते सम्पन्न बेल्ट परीक्षा अन्तर्गत २१ जना खेलाडीहरू ब्ल्याक बेल्ट हासिल गर्न सफल भएका थिए ।
उक्त सफल खेलाडीहरूको ब्ल्याक बेल्ट ग्राजुएशन (बेल्ट वितरण) कार्यक्रम आज २०८३ साल बैशाख २६ गते भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रम नेपाल क्योकुशिन कान कराँते संघका शाखा प्रमुख लक्ष्मण कुँवरको सभापतित्व तथा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
त्यसैगरी, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष एवं नेपाल क्योकुशिन कान कराँते संघका प्रमुख प्रशिक्षक दीपक बहादुर गोदार, नेपाल मुएथाई संघका अध्यक्ष गणेशलाल कच्छ्यपति, नेपाल क्योकुशिन कान कराँतेका पूर्व राष्ट्रिय खेलाडी तथा हाल क्यानडा निवासी अजीत गिरी लगायतका विशिष्ट व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि मिलन गुरुङले ब्ल्याक बेल्ट हासिल गर्ने सम्पूर्ण खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै खेल क्षेत्रमार्फत अनुशासन, आत्मविश्वास र राष्ट्रको गौरव बढाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल क्योकुशिन कान कराँते संघ लेखनाथ डोजोका प्रशिक्षक सुभाष खड्काले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू, शुभेच्छुक, अभिभावक तथा सहयोगी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा ब्ल्याक बेल्ट प्राप्त खेलाडीहरूलाई सम्मानसहित बेल्ट वितरण गरिएको थियो । आयोजकका अनुसार यस्ता कार्यक्रमले खेलाडीहरूको मनोबल वृद्धि गर्नुका साथै कराँते खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।