क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ ।
युरोन्युजका अनुसार करिब एक दशकदेखि चिसिएको सम्बन्धलाई सुधार्ने लक्ष्यका साथ कार्नी चार दिने भ्रमणका लागि बुधबार चीन पुगेका हुन् ।
बेइजिङमा शुक्रबार भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री कार्नीले क्यानडा र चीनबीचको 'रणनीतिक साझेदारी'को प्रशंसा गरे । १० महिनाअघि मात्र प्रधानमन्त्रीको कार्यभार सम्हालेका कार्नीले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
भ्रमणका क्रममा दुई देशबीच ऊर्जा, कृषिजन्य उत्पादन (पेट फूड), संस्कृति र पर्यटन लगायतका आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री कार्नीले कृषि, ऊर्जा र वित्तका क्षेत्रमा दीर्घकालीन सहकार्यको सम्भावना रहेको औंल्याएका छन् ।
सम्बन्धमा 'टर्नअराउन्ड' (महत्वपूर्ण मोड) भेटको सुरुमा कार्नीले ओटावा र बेइजिङ नयाँ रणनीतिक साझेदारीमा अघि बढेकामा आफू 'अत्यन्तै खुसी' रहेको बताए । चिनियाँ राष्ट्रपति सीले पनि अक्टोबरमा दक्षिण कोरियामा भएको 'एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन' (एपेक) शिखर सम्मेलनको साइडलाइन भेटवार्तालाई दुई देशको सम्बन्धमा 'टर्नअराउन्ड' को संज्ञा दिए । उनले क्यानडासँगको सम्बन्ध पुनः सुरु भएकोमा आफू उत्साहित रहेको उल्लेख गर्दै 'स्वस्थ र स्थिर' सम्बन्ध दुवै देश र विश्व शान्तिका लागि हितकर हुने बताए ।
सन् २०१८ मा चिनियाँ प्रविधि कम्पनी हुवावेकी कार्यकारी अधिकारीको पक्राउ र चीनमा निर्मित इलेक्ट्रिक गाडीमा क्यानडाले लगाएको १०० प्रतिशत भन्सार शुल्कका कारण दुई देशबीचको सम्बन्ध निकै बिग्रिएको थियो । ८ वर्षपछि क्यानडाका प्रधानमन्त्रीले गरेको यो पहिलो चीन भ्रमण हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम युरोन्युजका अनुसार अमेरिकामा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै क्यानडाले आफ्नो व्यापारिक रणनीति परिवर्तन गर्न खोजेको देखिन्छ । ट्रम्प प्रशासनले क्यानडामाथि लगाएको उच्च आयात महसुल र क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने जस्ता विवादास्पद टिप्पणीका कारण ओटावा र वासिङ्टनबीच तनाव बढेको छ ।
क्यानडाको कुल निर्यातको ७५ प्रतिशत हिस्सा अमेरिकामा मात्र निर्भर छ । क्यानडाकी विदेशमन्त्री अनिता आनन्दले आगामी १० वर्षमा अमेरिकासँगको व्यापारिक निर्भरता घटाएर अन्य देशसँगको व्यापार दोब्बर बनाउने लक्ष्य रहेको समेत बताइन् । 'विश्वव्यापी आर्थिक वातावरण मौलिक रूपमा परिवर्तन भएको छ, क्यानडाले अब आफ्ना व्यापारिक साझेदारहरू बदल्ने छ,' उनले भनिन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले पनि क्यानडालाई अमेरिकाको छायाबाट बाहिर निस्केर 'रणनीतिक स्वायत्तता' अपनाउन सुझाव दिँदै आएका छन् । ट्रम्पको आर्थिक नीतिका कारण क्यानडा र अमेरिकाको ऐतिहासिक सम्बन्धमा दरार आउन सक्ने र त्यसको फाइदा बेइजिङलाई पुग्न सक्ने विश्लेषण गरिएको छ ।