थ्रि एन्जल्स नेपालद्वारा सञ्चालित CVP कार्यक्रम अन्तर्गत करियर सम्बन्धी सचेतना तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकदिने करियर वर्कशप कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विशेषगरी आर्थिक अवस्था कमजोर तथा सिमान्तकृत वर्गका किशोरी तथा युवतीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रमले सहभागीहरूलाई करियर निर्माणमा मार्गदर्शन प्रदान गरेको छ।
कार्यक्रमको मुख्य उद्देश्य किशोरी तथा युवतीहरूलाई करियर सम्बन्धी आवश्यक जानकारी दिनु, प्राविधिक तथा व्यावसायिक शिक्षाको महत्वबारे सचेत गराउनु, स्वरोजगार तथा रोजगारीका अवसरबारे जानकारी गराउनु र भविष्यको लक्ष्य निर्धारण गर्न प्रेरित गर्नु रहेको थियो। कार्यक्रममा कक्षा १०, कक्षा ११ र १२ तथा ब्याचलर तहमा अध्ययनरत विद्यार्थीहरूका साथै भोकेशनल तालिम अन्तर्गत पार्लर र टेलरिङ तालिम लिइरहेका तथा तालिम पूरा गरी आ–आफ्नो पेशामा संलग्न युवतीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न क्षेत्रका विज्ञ तथा प्रतिनिधिहरूको महत्वपूर्ण उपस्थिति रहेको थियो। सिटिभिटि (CTEVT) का प्राविधिक अधिकृत, प्रभु बैंक गड्यौली शाखाका शाखा प्रबन्धक तथा अनुग्रह सिलाइ प्रशिक्षण केन्द्रका निर्देशकले सहभागीहरूलाई प्राविधिक शिक्षा, सीपमूलक तालिम, वित्तीय साक्षरता र स्वरोजगारका अवसरबारे महत्वपूर्ण जानकारी तथा प्रेरणादायी सुझाव प्रदान गरेका थिए।
कार्यक्रममा करियर सम्बन्धी सचेतनामूलक प्रस्तुति, प्राविधिक तथा व्यावसायिक शिक्षाबारे जानकारी, बैंकिङ सेवा तथा वित्तीय व्यवस्थापन सम्बन्धी जानकारी, सीप विकास र स्वरोजगारका अवसरबारे छलफल, साथै सहभागीहरूसँग अन्तरक्रिया तथा प्रश्नोत्तर सत्र सञ्चालन गरिएको थियो। सहभागीहरूले आफ्नो रुचि अनुसार करियर छनोट गर्ने विषयमा स्पष्टता प्राप्त गरेका छन् भने प्राविधिक तथा व्यावसायिक शिक्षाप्रति सकारात्मक धारणा विकास भएको बताइएको छ।
वर्कशप पश्चात् सहभागी युवतीहरूमा आत्मविश्वास र भविष्यप्रति उत्साह बढेको देखिएको आयोजकले जनाएको छ। थ्रि एन्जल्स नेपालका अनुसार कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा सिमान्तकृत वर्गका किशोरी तथा युवतीहरूलाई करियर निर्माणमा मार्गदर्शन प्रदान गर्नुका साथै उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। अतिथिहरूको विज्ञता र सहभागीहरूको उत्साहले कार्यक्रम पूर्ण रूपमा सफल भएको आयोजकको भनाइ छ।