काठमाडौं । जितु नेपालको निर्माण र शीर्ष अभिनय रहेको फिल्म ‘आइएम जितबहादुर’को संक्षिप्त टिजर युट्युबमा रिलिज भएको छ । टिजरले मुख्य पात्र जितुको ‘क्यारेक्टर लुक्स’ बारे जानकारी दिन्छ ।
प्रदर्शन मिति घोषणा गरिएको छैन, यद्यपि, फिल्मको प्रदर्शन ५ असारमा गर्ने तयारी छ । यसको औपचारिक घोषणा हुन बाँकी छ । नयाँ पोस्टरमार्फत प्रदर्शन मिति घोषणा हुने जानकारी जितुले दिए ।
यो फिल्मलाई केही हिन्दी र बंगाली भाषाका फिल्म निर्देशन गरेका शुभेन्दु घोषले निर्देशन गरेका हुन् । भारतको कोलकाता निवासी घोष लामो समयदेखि मुम्बईमा बस्दै आएका छन् ।
यस फिल्मको पोस्ट-प्रोडक्सनका काम सबै मुम्बईमा गरिएको हो । टिजर हेर्दा पनि यसको सम्पादन, ग्राफिक्स र ध्वनि गुणस्तरीय देखिन्छ । यो फिल्मबाट जितु पहिलोपटक निर्माता बनेका हुन् ।
फिल्ममा एक नेपाली कलाकारको संघर्ष र सफलताको कथावस्तु समेटिएको छ ।
फिल्ममा जितुसहित वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनालको शीर्ष अभिनय छ । यो फिल्म कर्मभूमि क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको हो ।