डार्टफोर्ड (बेलायत) — ९ अप्रिल २०२६
बेलायतको डार्टफोर्डमा बसोबास गर्ने ४० वर्षको सेरोफेरो वा सोभन्दा बढी उमेरका नेपाली समुदायले आफ्नो खेलकुद यात्रालाई निरन्तरता दिँदै ‘बुधबार फुटबल’ को दोस्रो सत्र (सिजन २) औपचारिक रूपमा सुरुवात गरेका छन्। बुधबार साँझ डार्टफोर्डस्थित ‘डार्टफोर्ड हिथ फुटबल’ (Dartford Heath Football) मैदानमा आयोजित कार्यक्रममार्फत यस वर्षको खेल तालिकाको शुभारम्भ गरिएको हो। सन् २०१५ देखि नै हरेक सप्ताहन्तमा फुटबल खेल्दै आएको यो समूहले गत वर्षको सफल परीक्षणपछि बुधबारको सत्रलाई पनि समुदायको नियमित कार्यक्रमको रूपमा स्थापित गरेको हो। यस पटकको उद्घाटन सत्रमा डार्टफोर्ड बरो (Borough) का साथै छिमेकी क्षेत्र बेक्स्ली (Bexley) बाट समेत उत्साहजनक रूपमा खेलाडीहरूको सहभागिता रहेको थियो।
खेलकुदको उद्देश्य र यसको प्रभावबारे चर्चा गर्दै खेलाडी तथा संयोजनकर्ता मध्येका एक सुरेन ले भन्नुभयो:
"हाम्रो मुख्य उद्देश्य भनेको खेलकुदका माध्यमबाट समुदायलाई एकढिक्का बनाउनु हो। यस्ता गतिविधिले हामीलाई शारीरिक रूपमा मात्र नभई भावनात्मक रूपमा पनि जोड्ने काम गर्छ। कामको व्यस्तताका बीच आपसी भेटघाट र स्वास्थ्यलाई सन्तुलनमा राख्न यो एउटा महत्वपूर्ण मञ्च बनेको छ।"
केवल खेलकुदमा मात्र सीमित नभई नेपाली मौलिक संस्कृति र भाइचारालाई पनि सँगै लैजाने उद्देश्यले उद्घाटन कार्यक्रमलाई विशेष नेपालीपनका साथ अघि बढाइयो। सहभागीहरूले डार्टफोर्डस्थित स्थानीय ‘रुबी किचन’ (Rubi Kitchen) द्वारा तयार पारिएको नेपाली मौलिक परिकार सेलरोटी खाएर सत्रको स्वागत गरे। खेलकुदको माध्यमबाट स्वास्थ्य रक्षाका साथै डायस्पोरामा नेपालीपनको प्रवर्द्धन गर्ने यो प्रयासको स्थानीयले निकै प्रशंसा गरेका छन्।
यो फुटबल सत्र आगामी सेप्टेम्बर २०२६ सम्म हरेक बुधबार बेलुकी ६:०० बजेदेखि ८:०० बजेसम्म सञ्चालन हुने आयोजकले बताएका छन्। यस अभियानलाई सफल बनाउन स्थानीय नेपाली संघ–संस्था र प्रतिष्ठित व्यक्तित्वहरूले उत्साहजनक सहयोग उपलब्ध गराएका छन्:
नेपाली कम्युनिटी डार्टफोर्ड (DNC): संस्थाले फुटबलका लागि आवश्यक खेल सामग्री (Football gear) उपलब्ध गराएको छ, जसमा तीर्थ, अनुक्रम र रामजीले विशेष पहल गर्नुभएको छ।
आर्थिक सहयोग: एनआरएनए (NRNA) आइसीसीका उप-महासचिव दिनेशबाट ५० पाउण्ड सहयोग प्राप्त भएको छ।
यो खेलकुद सत्रले केवल खेलाडीहरूलाई मात्र होइन, उनीहरूका परिवारलाई पनि ‘डिजिटल लत’ बाट टाढा राख्ने एउटा बलियो माध्यम दिएको छ।
आफ्ना श्रीमानलाई हौसला प्रदान गर्न खेलमैदान पुग्नुभएकी पत्रकार अनुपमा ले यस अभियानलाई एउटा सकारात्मक पारिवारिक सुरुवातको रूपमा चित्रण गर्नुभयो। उहाँले भन्नुभयो:
"यो एउटा निकै राम्रो सुरुवात हो, जसले पूरै परिवारलाई मोबाइल र टेलिभिजनको स्क्रिनबाट टाढा राख्न सफल भएको छ। एकातिर श्रीमानहरू फुटबल खेलेर स्वस्थ बन्नुहुन्छ भने अर्कोतिर हामी परिवारका सदस्यहरू पनि पार्कको खुल्ला र स्वच्छ वातावरणमा रमाउन पाउँछौं। यो सबैका लागि फाइदाजनक छ।"
त्यस्तै, सोसाइटी अफ नेपलिज प्रोफेशनल्स यूके (SNPUK) का महासचिव एवं खेलाडी विदुर ले खेलको सामाजिक पक्षमा जोड दिँदै भन्नुभयो:
"घरमा बसेर मोबाइल चलाएर समय बिताउनुभन्दा यसरी मैदानमा आउनु धेरै लाभदायक छ। यहाँ आउँदा साथीभाइसँग भेटघाट हुन्छ, हाँसोठट्टा गरिन्छ र रमाइलो वातावरणमा समय बित्छ। यसले हाम्रो मानसिक र शारीरिक स्वास्थ्य दुवैलाई स्फूर्त राख्न मद्दत पुर्याउँछ।"
४० वर्षको सेरोफेरोका यी खेलाडीहरूको यो जोस र सक्रियताले बेलायतमा हुर्कँदै गरेको दोस्रो पुस्ताका नेपालीहरूलाई समेत सकारात्मक सन्देश र प्रेरणा दिएको छ। खेलप्रतिको यो लगाव र समुदायप्रतिको समर्पणले डार्टफोर्ड र आसपासका नेपालीहरूमा नयाँ ऊर्जा र एकताको सञ्चार गरेको छ।
