लन्डन — प्रवासी नेपाली सम्पर्क मञ्च यूके ले लन्डनस्थित नेपाली दूतावास लन्डन मार्फत नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह लाई ९ बुँदे ज्ञापनपत्र बुझाएको छ।
मञ्चका अध्यक्ष पशुपति पोखरेलको नेतृत्वमा गएको टोलीले मंगलबार कार्यवाहक राजदूत विपिन दुवाडीलाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो। ज्ञापनपत्र ग्रहण गर्दै दुवाडीले सम्बन्धित निकायसम्म छिट्टै पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
ज्ञापनपत्रमा प्रधानमन्त्री शाहलाई भारी जनसमर्थनसहित नेतृत्वमा पुगेकोमा बधाई दिँदै देशलाई स्थायित्व, सुशासन र समृद्धिको दिशामा अघि बढाउने अपेक्षा व्यक्त गरिएको छ। साथै, सरकारका केही कदमप्रति असन्तुष्टि जनाउँदै विधिको शासनविपरीत गतिविधि रोक्न आग्रह गरिएको छ।
मञ्चले केपी शर्मा ओली लगायतका नेताहरूलाई पूर्वाग्रही ढंगले पक्राउ गरिएको दाबी गर्दै उनीहरूको रिहाइको माग गरेको छ। यस्ता कदमले लोकतान्त्रिक प्रणाली कमजोर हुने उल्लेख गर्दै राजनीतिक प्रतिशोधको अन्त्य गर्न आग्रह गरिएको छ।
त्यसैगरी, जाँचबुझ आयोगका प्रतिवेदनप्रति प्रश्न उठाउँदै त्यसलाई निष्पक्ष नभएको दाबी गरिएको छ। सामाजिक सञ्जालमा बढ्दो असभ्य र अमर्यादित अभिव्यक्तिलाई नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ। पेशागत तथा विद्यार्थी संगठनमाथि लगाइएका प्रतिबन्ध फिर्ता लिन समेत मञ्चले माग गरेको छ।
प्रवासी नेपालीका दीर्घकालीन मुद्दाहरू उठाउँदै मञ्चले गैरआवासीय नागरिकताको प्रभावकारी कार्यान्वयन, वंशज नागरिकताको निरन्तरता, गोर्खा सैनिकहरूको समान पेन्सन, विदेशबाट मतदान गर्ने व्यवस्था तथा विदेशमा रहेका नेपालीहरूको सम्पत्तिको सुरक्षाजस्ता विषय तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।
अन्त्यमा, सरकारलाई संविधानको परिधिभित्र रही अन्तर्राष्ट्रिय मान्यता र लोकतान्त्रिक मूल्यअनुसार निष्पक्ष ढंगले देश विकासमा केन्द्रित हुन मञ्चले सुझाव दिएको छ।