म जस्तै, उहिले भैरव अर्याललाई पनि आफ्नो नाम राख्न सकस परेको रहेछ। अन्ततः श्रीमतीले “हरि
लठ्ठक” नाम जुराइदिएपछि उनी ढुक्क भएका थिए रे। अहिले म पनि त्यही संकटको बाटोमा
हिँडिरहेको छु।
हेर्नुस् न, मेरो ज्यान दाँत कोट्याउने सिन्काजस्तो छ, तर साथीभाइले मलाई “हनुमान” भन्छन्। के
देखेर यस्तो नाम जुराइदिए, भगवान् नै जानून्! मलाई देख्नेबित्तिकै “हनुमान आयो, हनुमान आयो!”
भनेर खासखुस गर्छन रे। ज्यानको हिसाबले त्यसो भनेका हुन् कि भनेर सोचूँ भने, मेरो तौल जम्मा
पैँतालिस किलो छ। बलवान् को त झन् के कुरा भयो र, चर्को हावा चल्यो भने पनि उडिएला जस्तो
लाग्छ। साहसको कुरा गरूँ भने, सानो विवाद परे पनि आफ्नो गल्ती नभए तापनि माफी माग्दै
लुसुक्क पन्छिन्छु। रामभक्त भएर त्यसो भनेका हुन् कि भनूँ भने, मैले कुन देवता मान्छु वा मान्दिनँ,
त्यसको तिनीहरूलाई के खबर! कुनै विवाद पर्यो कि “हनुमान” भन्दै गाली गर्छन्। हुँदाहुँदा
सामाजिक सञ्जालमा समेत यही नामले गिल्ला गर्न थाले। अति भएपछि, अस्ति मैले बालसखा
रामुलाई यसको रहस्य के हो? भनेर बुझ्न लगाए।
नभन्दै, म नभएको बेला उनी साथीभाइको भेलामा कुरा सुन्दै रहेछन्। एक जनाले त ठोकुवा गर्दै
भनेछ – फलानो त ‘नेपाल विकास’ पार्टीको अन्धभक्त ‘हनुमान’ हो। हुन त हामी तिन पुस्तादेखि
यही पार्टीका समर्थक हौँ। हाम्रो पार्टीजस्तो देशभक्त अरू को छ र? हाम्रो पार्टीले जस्तो गरिबको
उद्धार अरू कसले गरेको छ? हाम्रा कमरेडहरू हिजोसम्म केही थिएनन्, आज हुनेखाने भएका छन।
यहि गतिले हाम्रो पार्टीले राम्रो गर्दै गयो भने एक दिन सबैको उद्धार हुन्छ भन्ने मेरो दृढ विश्वास छ।
प्रगति भनेको यही त हो!। अब यति राम्रो पार्टीको पक्षमा बोल्दा कसैले आलोचना गर्छ भने
कन्सिरी तात्दैन त् ? पार्टीको विरोध सुन्दा रगत उम्लिँदैन र? यही निष्ठाका कारण मलाई “हनुमान”
भन्नु कस्तो न्यायोचित व्याख्या हो? मैले आजसम्म बुझ्न सकेको छैन।
अस्ति पार्टीको जुलुसमा जाँदै थिएँ। उता बाटोमा कसैले “उ झोले आयो, झोले आयो!” भनेको
सुनियो। अरू कसैलाई भनेको हो कि भनेर यताउति हेरेँ, वरिपरि अरू कोही थिएन। हुँदाहुँदै, मेरै मिल्ने
साथीले गफैगफमा “यति धेरै झोले नबन न” समेत भन्यो।अब मलाई पक्का भयो – मेरो नाम त अब
“हनुमान” बाट “झोले” भएछ।
त्यसो त झोला बोक्ने बानी मेरो पुरानै हो। सानोमा स्कुल जाँदा झोला छुट्दैनथ्यो। पछि पार्टीको
काममा हिँड्दा पर्चा–पम्प्लेट बोक्न पनि झोलाकै सहारा लिनुपर्थ्यो। तर मैले झोला बोक्न छोडेको धेरै
भयो। आजकल त झोला बोक्नै पर्दैन; सबै कुरा फोनमै छ। लेख्ने–पढ्ने चलन पनि कहाँ छ र
आजकल! बिना सित्तै किन झोला बोक्नु? तर हनुमानबाट झोले कसरी भएछु भन्ने जिज्ञासा फेरि
जाग्यो। त्यसैले पुरानै साथीलाई गुहारेँ। उसका अनुसार आजकल “झोले” को परिभाषा नै
बदलिएको रहेछ।
उसले भन्दै गयो – तँ आजकल हाम्रो पार्टीले जे गरे पनि राम्रो देख्छस् रे। पार्टी अध्यक्षको त झन्
औधि तारिफ गर्छस् रे। किन नगर्ने त? हाम्रो पार्टीजस्तो राम्रो पार्टी र हाम्रो अध्यक्षजस्तो राष्ट्रवादी
अरू को छ र? देश बनाउने भनेकै हाम्रो पार्टीले हो। मलाई त अरू पार्टीको मान्छे देख्यो कि रिस उठेर
आउँछ। बुद्धि भएका जति सबै हाम्रै पार्टीमै छन्। बरु म बाउआमा छोड्न सक्छु, साथीभाइ छोड्न
सक्छु, तर पार्टीको बचाउ गर्न छोड्दिनँ। मलाई मेरो गाउँभन्दा, साथीभाइभन्दा मेरो पार्टी प्यारो छ।
झोलेसम्म भनेको त सहेकै थिएँ। तर आजकल त् “चाटुकार” पनि भन्दारहेछन् भन्ने सुन्दा त कन्सिरी
नै तातेर आउँछ। मैले आफ्नो प्यारो नेताको चाकरी गरेँ त के बिगारेँ? तपाईंले आफ्ना बाउआमाको
सेवा गर्नुहुन्न? के तपाईंले आफ्ना बाउसँग सहयोग माग्नुहुन्न? मेरो नेता पनि मेरा लागि बाउसरह नै हुन्।
कहिलेकाहीँ गाह्रो–अफ्ठ्यारो पर्दा घर चलाउन केही सहयोग गरिदिन्छन् भने त्यसमा के ठूलो कुरा
भयो र? उनकै कारणले म नेता हुन पाएको छु, कार्यकर्ताहरूलाई उपभोक्ता समिति, सञ्चालक
समिति आदिमा घुसाउन पाएको छु, छोराछोरीलाई जागिरमा लगाउन पाएको छु। अब यति
सुविधा पाएपछि अलिकति सेवा नगर्नु पनि त भएन नि! कुरा नबुझ्ने समाज भएपछि कुरा काट्छन्
त् अब मैले के गरूँ?
त्यति मात्र कहाँ हो र? जानकारीमा आएसम्म मेरा अरू नामहरू पनि यस्ता छन् रे – अन्धभक्त,
पुच्छर, भजन मण्डली आदि।
सबैले अनेक थरी नामले बोलाउन थालेपछि मेरी श्रीमतीलाई पनि दिक्क लागेछ। एक दिन उनले
बडो दिक्दार हुँदै भनिन्, “हजुर अब स्वतन्त्र नागरिक बन्नुस्।”
श्रीमतीको सल्लाह अनुसार आजकल म ‘स्वतन्त्र नागरिक’ बनेको छु। फाट्टफुट्ट सामाजिक
सञ्जालमा आफ्ना विचार पोख्छु। तैपनि मानिसहरूले “पुरानो रंग देखायो” भन्छन्, कसैले कसैले
“खास्टोले ढाकेको बिरालो म्याउ गर्यो” पनि भन्दछन।
दुःख छ हजुर, आजकल मलाई धेरै दुःख छ।